बाघको मुखबाट मृत्यु जितेर फर्केका मोतीलाल पाण्डे

Mar 24, 2024 - 10:24
Mar 24, 2024 - 15:15
 0  348
बाघको मुखबाट मृत्यु जितेर फर्केका मोतीलाल  पाण्डे

विनिता कंडेल 

चितवन, चैत्र ११-

माघको महिना थियो, घर नजिकैको सामुदायीक जंगलमा भर्खर घाँस दाउराको लागी पूर्जी खुलेको थियो। मोतीलाल पाण्डे एकाबिहानै श्रीमती धर्मी पाण्डे र गाउँलेहरुसँग राप्ती खेला तरेर निकै पर भिमलियाको चौकी नजिकै जङ्गलमा घाँस काट्न पुगे। घनघोर त्यो जङ्गलमा जताततै हरियो कलकलाउँदो घाँस देखेपछी उनिहरुको खुसीले सिमा नै नागिसकेको थियो। एउटा ठुलो रोइनिको रुख वरिपरी सिरुको घाँस लहलह देखेपछि मोतीलाल घाँस काट्न त्यतै लम्किए ।

 श्रीमति र साथीहरु भन्दा निकै पर पुगेका पाण्डे खुसिले मख्ख पर्दै घाँस काट्न कच्चीया(हँसिया) झिके। घाँस काट्न कच्चीया अघि मात्र के सारेका थिए आफ्नै अघिबाट गर्जिदै गोठको भैंंसी जत्रै देखीने अजँगको पाटे बाघ निस्कियो र पाण्डे माथि नै जाईलाग्यो ।

 बाघ गर्जिएको आवाज सुन्नासाथ मोतीलालकी श्रीमती धर्मी चिच्याउँदै र अतालिदै श्रीमान भएको ठाउँमा पुगिन्। धर्मी पुगेपछी बाघले मोतिलाल लाई छाडेर भाग्यो । धर्मी पुग्दा बाघले मोतिलाललाई भुईमा लडाई सकेको थियो । अनुहार, छाति, घाँटी र शरिरमा बाघका नंग्राले कोपरेर चोटैचोट र रगताम्मे बनाएको थियो भने मोतिलाल अचेत थिए ।

त्यतिकैमा घाइते र अचेत आफ्ना श्रीमानलाई काखमा लिएर रुँदै र सुम्सुमाउँदै गरेकी धर्मीलाई झट्ट सम्झिन्, बाघले आँफुले आक्रमण गरेको सिकार छाडेर गएपनि केही बेरमै तुरुन्तै त्यहीबाटो आउँछ, त्यसैले घाइतेलाई दाँयाबाँयाँ केही टाढा सारिहाल्नु पर्छ। भन्ने कुरा पर्वतमा गाउँमै हुदा बुबाले भनेका थिए । धर्मीले झट्ट यति सम्झिनासाथ सकिनसकी रगतको आहालमा डुबे सरी भएका श्रीमानलाई घिसार्दै केही हात पर सारिन् । नभन्दै केहि समयमै बाघ फेरि गर्जिदै मोतीलाललाई लडाएर छाडेको ठाउँमा फेरी आईपुग्यो तर त्यहाँ धर्मी चिच्याउँदै र गुहार्दै गर्दा सँगै घाँसदाउरा गर्न गएका छिमेकीहरु पनि आइपुगे र बाघलाई धपाए।

 त्यसपछी नजिकै रहेको चौकीमा रहेको आर्मीलाई खबर गरे र मोतीलाललाई गाडिमा हालेर भरतपुर अस्पताल पु¥याए। निकै गहिरो चोट लागेका रगत निकै बगिसकेका मोतिलालको शरिरमा १६ वटा टाँका लगाईयो तर पनि अचेत मोतिलाल ६ घण्टासम्म होसमा आउन सकेनन् । माघ महिनाको चिसोको समय थियो ६ घण्टा पछि होसमा आएका मोतिलाल पाँच दिनसम्म अस्पतामै बसे र केही निको भएपछी घर फर्किए ।

 ‘बाघले आक्रमण गरेर त्यो अबस्थामा पुराएको मान्छे व्यूतिनु अर्को जन्म लिए सरह हो मोती त ठुलो कालले बाच्यो “। गाउँलेहरु भन्न थाले । मोतिलाल आँफै पनि सपना देखेजस्तै ठान्थे ।

वि स १९९५ साल जेठ १८ गते बुबा भागिरथ पाण्डे र आमा लिलादेवी पाण्डेका पहिलो सन्तानका रुपमा मोतीलाल पाण्डेको पर्वतमा जन्म भएको थियो। मोतिलाल जन्मेपछी बुवा भागिरथले अर्को विवाह गरी सैतेनि आमा लिएर आसाम गएपछि बैनि र आमासंग दुखदायी रुपमा उनको बाल्यकाल बित्यो । उनि १६ वर्षका भए अनि उनको धर्मीसँग विवाहवन्धनमा बाँधीए ।

 घरपरिवारको जिम्मेवारी आफ्नो काँधमा थपिएपछि मोतीलाल धन कमाउन भारत पसे । भारत पसेको केही समयमै एकदिन अचानक उनको हातमा एउटा चिठी पर्यो। त्यो चिठिमा लेखिएको थियो, ‘आमा सिकिस्त बिरामी छन्, जति सक्दो छिटो घर फर्किनु‘ यो देखेपछी अमिलो मन बनाउँदै मोतीलाल आफ्नो सामान पोको पारेर घर फर्किए ।

 घरमा आमा अन्तिम घडिमा पुगिसकेकी थिइन्, घर पुग्नसाथ ‘आमा म आए नी। भन्दै हतार हतार भित्र मात्रै के पसेका थिए, भित्रबाट रोएको आवाज उनको कानमा गुन्जियो, कालो बादल मडारियो, चारैतिर अध्यारो छायो, मोतीलाल छाँगाबाट खसे सरी भए, त्यती टाढाबाट आमालाई भेटुला, काखमा बसेर दुख सुखका गफ गरुँला, आमाको मुहारमा खुसी छरुँला , यस्तै यस्तै बाँकी साँचेका सपना झलझली आँखामा नाच्न र गुञ्जिन थाले, अन्ततः आमाले यो संसार छाडिन्, आमासँग न छोराले बोल्न पाए न आमाले नै, उनले भेटे त मात्रै आमाको मृत शरिर ।

धन कमाएर आमा र परिवारलाई खुसीसाथ राँखौला भन्ने सपना बोकेर भारत पसेका मोतीलाल आमाको मृत्युपछि आँफुलाई सम्हाल्न सकेनन्, उनलाई आँफु जन्मेको र आमासँग हुर्किएको बढेको त्यो ठाउँ बस्नै सकेनन्, र त्यो ठाँउ छोडेर चितवन झर्ने निधो गरे।

त्यसपछी श्रीमती धर्मी र छोरा बोकेर चितवन झरेका मोतीलाल चितवनको नारायणगढमा बसोबास गर्न थाले। त्यति बेला नारायणगढमा खेतियोग्य जमिन कतै थिएन, थियो त मात्र बालौटो माटो जाँहा केही खेति नै हुदैनथ्यो।

 त्यतिबेला मोतिलाल नौ सन्तानको बाबु बनिसकेका थिए,त्यो बलौटे माटोमा त्यो ठुलो परिवार कसरी हुर्काउने भन्ने कुराले मोतीलाललाई चिन्तित बनायो, खेतीयोग्य जमिन खोज्दै उनि अहिलेको बुद्धनगर पुगे जहाँ खेतियोग्य जमिनसँगै खोला र जङ्गल नजिक थियो, जसले गर्दा बस्तुभाउ पाल्न र दैनिकि चलाउन सहज हुने पानी र घाँस दाउराको सहजता थियो। यी सब कारणले उनि त्यही बस्ने निधो गरे।

 मोतीलालले खेतीपाती सुरु गरे, घरसँगै खरको छाँनो हालेर सानो गोठ बनाए त्यसमा भैंसी बाँधे । त्यसपछी मोतिलाल दम्पती बिहान बेलुकी वस्तुभाउको धन्दामा र दिउँसोमा खेतीकिसानीमा व्यस्त रहँदै जिवन सुखमय बिताउन थाले ।

जङ्गल नजिकै भएको कारणले गर्दा जंगली जनावर हात्ती, गैँडा, भालु, बँदेलजस्ता वन्यजन्तु आएर दुख दिन्थे सबै गाँउले मिलेर कहिले आगो बालेर त कहिले रातभर जाग्राम बसेर खेति जोगाउँथे । तिनै जंगली जनाबरसँग पैंठे जोरी गर्दै जिन्दगी गुजारेका मोतिलाल अहिले ८५ वर्ष उमेर पार गरे। एनि ति दिन सम्झिदैं भन्छन्, ति दिन, रात, अनि गाँउ छरछिमेक, ऐचोपैंचो, मेलापात, अर्मपर्मले समाजमा मिठो आत्मियता थियो, मित्रता थियो, बन्धुत्व थियो, दायित्वबोध थियो, तर अहिले समयको बिकाससँगै सबै परिवर्तन हुँदै गएको देखेर मोतिलाललाई आफ्नै संंघर्ष पनि एकादेशको कथा जस्तो लाग्छ, सपना जस्तो लाग्छ, कहानी जस्तो लाग्छ ।

मोतीलाल अहिले पनि बुद्धनगर मै बसोबास गर्छन्, उनका छ छोरा र तीन छोरी छन् उनिहरुबाट दर्जनौं नातिनातिना पनातिपनातिनासम्म देखि सकेका छन्, पर्वतबाट रित्तो हात चितवन झरेका मोतीलाल मिहिनेत गरेर घर बनाए बालबच्चाहरु हुर्काए पढाए र सबैको विवाह गरेर आफ्नो कर्म पूरा गरे । केहि वर्ष पहिलो उनले धुमधामका साथ चौरासि पुजा पनि सम्पन्न गरे।

 ४२ वर्षको हुदा बाघको आक्रमणबाट कालकै मुखमा पुगेर फकिएका मोतीलाल अहिले ८५ वर्षे उमेरमा पनि उत्तिकै जोशिला छन्, भन्छन्, बाघले त लान सकेन अझै केही वर्ष त के मान्थे र उनि गलल हाँस्दै मोतिलाल भन्छन्,“त्यती बेला मलाई केही भएको भए आज मैले छोरा नाति पनाती देख्न पाउथिन होला । मेरी आमाले मलाई बचाएकी हुनाले सबै देख्न र भोग्न पाँए । जब आमा शब्द उच्चारण मात्रै के गरेका थिए मोतिलालका आँखा रसाए, किनभने उनले जिवनका सुख दुख आमासँग साट्न नपाएकोले आमाको अभाव अझै खट्किरहेको महसुस गरिरहेका छन्। तरपनि आज सबै कुराबाट भरिपुर्ण र सन्तुष्ट मोतिराम आमा बाबु गुमाउनु, जन्म र मृत्यु प्रकृतिको नियम हो, जे लेखेको छ त्यो भोग्नै पर्छ भन्दै तत्कालै सम्हालिन्छन् र सम्हालिन पनि प्रेरित गर्छन्।

 जिवनमा दुख र सुखसँग पैँठाजोरी खेल्दै ८५ वसन्त पार गरेका मोतिलाल पान्डे र ८२ वसन्त पार गरेकी धर्मी आज आइपुग्दा ६ छोरा र तीन छोरीबाट १० नाति र १६ नातिनि तथा ५ पनाति १ पनातिना गरि ,४१ सन्ततीका अभिभावक बनेका छन् । यति ठुलो परिवारका ओत बनेका मोतिलाल दम्पती अहिले चितवनको भरतपुर १० मा रहेको कटरचोक मा आफ्ना सन्ततिसँगै खुसीका साथ दैनिकि बिताईरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow