दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिने

Mar 23, 2024 - 11:26
 0  101
दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिने

चितवन । दियालो बंगला दरबार वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच बंगला क्षेत्रमा द्विपक्षीय बैठक भएको थियो ।

 सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ गते औपचारिक कार्यक्रम भएको बताइन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक काम अगाडि बढाइने बताइन् ।

 बंगलालाई संग्रहालयका रूपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले अगाडि बढेको उनले बताइन् । भरतपुर पर्यटन वर्ष–२०२४ को सन्दर्भमा दरबार खोल्न लागेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि दरबार अध्ययन अनुसन्धान केन्द्र बन्ने प्रमुख दाहालले बताइन् । ट्रष्टको ऐतिहासिक सम्पदा, सम्पदालगायत अन्य नगरपालिकासँग सम्झौता गर्ने भरतपुर नगरपालिका नेपालको पहिलो नगरपालिका बन्न सफल भएको छ ।

नगरपालिकाले दियालोे बंगला सञ्चालनका लागि ट्रष्ट नियुक्त गर्न महानगरपालिकालाई आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा निरीक्षण तथा सञ्चालन कार्यविधि २०८० बनाएको थियो । शुक्रबार भएको सहमतिमा छ बुँदे समावेश छ । सम्झौतामा बंगलाको कार्यविधिअनुसार सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । ट्रष्टको स्वामित्वमा रहेको दियालोे बंगला तत्कालीन राजा महेन्द्रले बनाएका थिए । राजा महेन्द्रको यही दरबारमा मृत्यु भयो । राजा महेन्द्रले करिब दुई वर्षदेखि बंगलाको प्रयोग गरेको बताइएको छ । विशेषगरी जाडोमा राजा र राजपरिवारका सदस्य चिसोबाट बच्न बंगलामा बस्थे । त्यसैले यो बंगलालाई शीतकालीन महल पनि भनिन्छ ।

 यहाँ राजपरिवारका सदस्यहरु बसोबास गर्ने र राजा महेन्द्रको निधन भएकाले पनि यो चासोको विषय बनेको छ । दियालो बंगलाको क्षेत्रफल ५२ बिगाहा छ । बंगला क्षेत्रमा जोडिएको राजमार्गको अर्को पाँच बिगाहा जग्गा छ । नेपाल ट्रष्टले व्यवस्थापन गरिरहेको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ ।

 कार्यक्रममा नगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राणा, ट्रष्टका बोर्ड सदस्य देवीचन्द्र उपाध्याय, सुनिताकुमारी गौतमले आफ्नो धारणा राखेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow