भरतपुर भ्रमण वर्ष प्रवर्द्धनका लागि साइकल र्‍याली

Mar 22, 2024 - 11:57
 0  88
भरतपुर भ्रमण वर्ष प्रवर्द्धनका लागि साइकल र्‍याली

भरतपुर । साइकल सिटीका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान सुरू भएको छ ।

भरतपुर भ्रमण वर्ष-२०२४ को अवसरमा भरतपुरमा साइकल र्‍याली गर्दै अभियानको थालनी गरिएको हो । हरेक वर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा बृहत साइकल र्‍यालीको आयोजना गरेको छ ।

नारायणगढस्थित नारायणी नदीकिनारबाट सुरू भएको र्‍यालीका भरतपुर महानगरका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा प्रमुख दाहालले साइकल सिटीका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताइन् । उनले खेलमार्फत नयॉ पुस्तालाई साइकलको महत्त्व बुझाउनु आजको आवश्यकता भएको बताइन् ।

 साइक्लिङलाई पर्यटनसँग जोड्दै साइकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य महानगरका लागि उपयोगी साबित भएको बताइन् । भरतपुर भ्रमण वर्ष-२०२४ पर्यटन प्रवर्द्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि उनले आह्वानसमेत गरिन् । ‘साइकल चलाऔँ, वातावरण जोगाऔँ, स्वस्थ रहौँ’ भन्ने नारासहित आयोजना गरिएको र्‍याली नारायणी नदी किनारबाट सुरू भई ऑपटारी चोक विशालचोक, केन्द्रीय बस टर्मिनल, हामिक चोक, चौबिसकोठी, शहीदचोक, पुल्चोक हुँदै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो ।

साइकल र्‍यालीमा दुई सयभन्दा बढी साइकल राइडरहरु सहभागी भएका थिए । यस्तै, चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिए 

 नेपाल साइक्लिङ संघ र चितवन साइकल राइडर्स क्लबको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow