नेपाली कांग्रेस जनचाहनाअनुसार चल्ने पार्टी’

Mar 22, 2024 - 10:03
 0  81
नेपाली कांग्रेस जनचाहनाअनुसार चल्ने पार्टी’

भरतपुर । नेपाली कांग्रेस जनतामुखी र जनचाहना अनुसार चल्ने पार्टी भएको बिहीबार भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले बिहीबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कांग्रेस कसैको इशारा र लहैलहैमा चल्ने पार्टी नभएको आँैल्याएका हुन् ।

 नेपाली कांग्रेसमाथि पटकपटक आक्रमण गर्ने प्रयास भइरहेको भन्दै कांग्रेस कसैको दास नभई जनताको साहारा भएको टिप्पणी गरिएको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै संविधानसभा सदस्य विष्णुमाया परियारले कांग्रेस जनताको सहारा भएको बताइन् । ‘हाम्रो पार्टी साहाराबिहीनहरुको साहारा हो’, परियारले भनिन्, ‘कांग्रेसको चौतारीमा सबैलाई समेट्न जरूरी छ ।’ त्यस्तै बागमती प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री उत्तम जोशीले नेपाली कांग्रेस सबै जनताको साझा पार्टी भएको टिप्पणी गरे । ‘नेपालमा कति आलाकाँचा पार्टीहरु उदाए अस्ताए तर, कांग्रेस निडर र साहसका साथ जनताको माझमा जनताको सारथी भएर अगाडि बढेको छ’, उनले भने । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी नयाँ शिराबाट अगाडि बढेको प्रष्ट पारे । ‘नेपाली कांग्रेस चितवन अब कसैको इसारा र बहानामा चल्दैन, सभापति खनालले भने, ‘सत्यलाई असत्य बनाउने प्रयत्न गरिँदैछ त्यसको चिरफार जनताका माझमा गएर गर्न जरूरी छ’, सभापति खनालले भने ।

नगर समितिलाई सशक्तरुपमा अगाडि बढाउन, पार्टीका मूल्य मान्यता र सिद्वान्तहरुलाई आत्मसाथ गर्न, वर्तमान अवस्थामा देखिएका जटिलताहरुलाई सहजरुपमा समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नगर सभापति चित्रसेन अधिकारीले बताए । केन्द्रदेखि वडा तहसम्म पार्टीका एजेन्डाहरु लिएर आमनागरिकको घरघरमा पुगेर जनतासँग पार्टीले गरेका असल अभ्यासहरुको बारेमा जानकारी दिनु अन्तरक्रियाको मूल मर्म भएको सभापति अधिकारीको भनाइ छ ।

 कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ, महाधिवेशन प्रतिनिधि केशव मर्हजन, पूर्व जिल्ला सभापति तोपमानसिंह गुरूङ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, चितवन क्षेत्र नम्बर ३ (क) का सभापति खेमनारायण सापकोटा, नेपाली कांग्रेस भरतपुर–१४ का सभापति राजेन्द्र साँखी, १५ का सभापति ज्योति कंडेल, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, पार्टीबाट निर्वाचित कार्यपालिका सदस्यहरु, क्षेत्र, प्रदेश तथा वडा सभापतिहरु लगायतको सहभागिता रहेको थियोे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow