चितुवाको आक्रमणबाट चार घाइते, गाउँलेको प्रतिकारमा मारियो चितुवा

Mar 20, 2024 - 09:34
 0  16
चितुवाको आक्रमणबाट चार घाइते, गाउँलेको प्रतिकारमा मारियो चितुवा

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–७, पिप्लेमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

 मंगलबार बिहान चितुवाले आक्रमण गर्दा स्थानीय २५ वर्षीया गोमा श्रेष्ठ, ८३ वर्षीय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोइराला र ३५ वर्षीय दीपक श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

 गाउँलेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले प्रतिकार गर्ने क्रममा चितुवाको ज्यान गएको छ । स्थानीयले मरेको चितुवालाई डिभिजन वन कार्यालय धादिङमा बुझाएका छन् । केही समययता धादिङका विभिन्न स्थानमा चितुवाले आक्रमण गर्दा स्थानीय घाइते हुने क्रम बढ्दै गएको छ ।

 जंगली जनावरको प्राकृतिक बासस्थानमा मानव अतिक्रमण बढ्नु, वनमा डढेलो लाग्नु र पानीका स्रोतहरु सुक्दै जानुका कारण जनावरहरु मानवबस्तीमा पस्न थालेको वातावरण संरक्षणकर्मी भूमिरमण नेपालको भनाइ छ । अहिले धादिङका अधिकांश वनमा डढेलो लागेको छ । नलाङ, सलाङ, कुम्पुर, सुनौलाबजार, कल्लेरी, मुरलीभञ्ज्याङलगायतका विभिन्न स्थानका जंगलहरुमा केही दिनदेखि डढेलो लागिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow