एक महिनाको मात्र औषधि वितरण : गरिँदा भरतपुर अस्पतालमा भीड बढी

Sep 27, 2023 - 10:18
 0  102
एक महिनाको मात्र औषधि वितरण : गरिँदा भरतपुर अस्पतालमा भीड बढी

भरतपुर । स्वास्थ्य बिमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो ।

एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट लिएर चिकित्सकसँग परीक्षणपश्चात् मात्रै औषधि पाइन्छ । दीर्घरोगीहरु आफँैमा समस्यामा हुने र टाढा–टाढाबाट महिनैपिच्छे आउनुपर्ने बाध्यता रहेको छ । यसले अस्पतालको व्यवस्थापनमा समेत समस्या देखापरेको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उच्च छ । गत असोज ४ गते एकैदिन अस्पतालमा दुई हजार नौ सय ४० जना बिरामी आएका थिए । तीमध्ये दुई हजार सात सय नौ बिरामीले बहिरङ्ग सेवामा र दुई सय ३१ जनाले आकस्मिक सेवा लिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

माडी नगरपालिका–४ की गोमादेवी चापागाईँ नियमित सेवन गर्ने औषधि लिन अस्पताल आउने गर्छिन् । सोमबार बिहान १०ः३० बजेदेखि अस्पतालको फार्मेसीमा लाइनमा बसेकी उनले टोकन लिँदा दुई सय नम्बर प¥यो । बिमाबाट पाउने औषधि लिनका लागि आएका बिरामीको लाइन लामो लाग्ने गरेको छ ।

मधुमेह, उच्च रक्तचाप र पिसाब रोक्ने औषधि लिन आएकी उनी महिनैपिच्छे आउनुपर्दा समस्या भएको बताउँछिन् । उनले भनिन्, “दुई–तीन महिनाको औषधि लिन पाए यो हैरानी व्यहोर्नुपर्ने थिएन ।” घरमा बुढाबुढीमात्रै भएको भन्दै ६५ वर्षीया चापागाईँले औषधि लिनका लागि समेत समस्या हुने गरेको बताइन् । “एक महिना कति चाँडो जान्छ, जान्छ”, उनले थपिन् । माडी चितवन राष्ट्रिय निकुञ्ज पार गरेर आउनु पर्दछ । माडी आउन जान मात्रै रू चार सयभन्दा बढी बस भाडा लाग्छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट नियमित सेवन गर्ने औषधि लिन आएका ६८ वर्षीय अम्बिकाप्रसाद सापकोटा औषधि नियमित लिन आउनुपर्दा झन्झट भएको बताउँछन् । अस्पतालमा आएर परीक्षणपछि नियमित सेवन गर्ने औषधिको समेत लाइन बस्नुपर्ने हुँदा बिरामीको चाप बढ्दो क्रममा रहेको उनले बताए ।

“लाइन बस्यो औषधि लिनका लागि १ः०० बज्छ”, उनले गुनासो गरे । उनले थपे, “अस्पतालमा बिरामीको चाप घटाउनका लागि पनि बिमाबाट पाउने नियमित सेवन गर्ने औषधि तीन महिनाको दिनुपर्छ ।” अस्पताल प्रशासनलाई नियमित भन्दासमेत नसुन्ने गरेको उनको गुनासो छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट बिरामी आमा लिएर आएका राजेश लामा आमालाई लिएर लाइनमा थिए । ८२ वर्षीया आमाको नियमित परीक्षण र औषधि सेवन गर्नुपर्ने भएकाले उनले बिरामी नै लिएर अस्पताल आएका हुन् । मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलको नियमित औषधि सेवन गर्नुपर्ने लामाले बताए ।

अस्पतालमा बिरामीको चाप बढ्नुको कारण बिमाबाट पाउने औषधि लामो समयका लागि नदिनु रहेको उनले बताए । उनले भने, “औषधि हिजो लगेजस्तो लाग्छ । केही दिनमै सकियो भन्छन् । अनि बिरामी लिएर आउनुप¥यो । भीड बढ्ने नै भयो ।”

अस्पतालमा आइतबारमात्रै बहिरङ्ग सेवामा दुई हजार चार सय ९४ जनाले सेवा लिएका थिए भने आकस्मिक कक्षमा दुई सय ४५ जनाले सेवा लिएका थिए । अस्पतालको स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लीलाधर पौडेलले अस्पतालमा आउने आधा बिरामी नियमित औषधि खाने रहेको बताए । उनको भनाइमा दुई महिनाको लागि मात्रै औषधि दिँदासमेत ४० प्रतिशत बिरामी घट्छन् ।

अस्पतालमा आउने बहिरङ्ग सेवाका बिरामीमध्ये ७० प्रतिशत बिमाका बिरामी छन् । उनले थपे, “बिमाका बिरामीलाई तीन महिनाको औषधि दिन सकेमा अस्पतालको भीड धेरै घट्छ ।” यसले अस्पताल व्यवस्थापन र बिरामीले पाउँदै आएको झन्झट घट्ने उनको भनाइ छ ।

भीडलाई व्यवस्थित गर्नका लागि अस्पताल प्रशासनले औषधि फार्मेसी काउन्टर थप्दै लगेको छ । यस्तै टिकट काउन्टरसमेत थप्दै लगिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिरामीको चापअनुसार कर्मचारी व्यवस्थापन गर्दै आइएको उनले बताए । अस्पतालबाट दिइने सेवाप्रति जनताको विश्वास बढ्दै जाँदा बिरामीको चाप बढेको उनको भनाइ छ । नियमित औषधि सेवन गर्ने बिरामीलाई बिमा बोर्डले लामो समयको औषधि नदिँदा चाप बढ्दै गएको उनले बताए । उनले भने, “तीन महिनासम्मको औषधि दिन मिल्ने भए चाप केही कम हुने थियो ।

बिमा बोर्डले पत्र पठाएर एक महिनाभन्दा बढी समयका लागि औषधि नदिन भनेपछि सोहीअनुसार गरिएको उनले बताए । उनले भने, “मैले निर्देशकसँग मौखिकसमेत कुराकानी गरेँ, सम्भव छैन भनेपछि एक महिनाका लागि मात्रै औषधि दिइएको हो ।” उनले बोर्डले दाबी स्वीकार नगर्ने भएपछि बाध्य भएर एक महिनाको मात्रै औषधि दिँदै आएको बताए ।

केही महिनाअघिसम्म अस्पतालमा दुई महिनाका लागि औषधि वितरण गर्ने गरिएको थियो । भीड बढेपछि अस्पतालले तीन महिनाका लागि औषधि दिन सुरू ग¥यो । यससँगै बोर्डले पत्राचार गरी नियमसङ्गतरुपमा एक महिनाका लागि मात्रै औषधि दिन पत्राचार गरेको थियो । बिमा कार्यक्रममा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रुपमा रहेको छ । बिमा दाबी अस्वीकृत दर निकै न्यून भएकाले वार्षिकरुपमा अस्पतालले पाउने रकम अन्यको तुलनामा धेरै छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow