आजदेखी छठ पर्वको व्रत विधि शुरु, आज ‘नहाय–खाय’

Nov 17, 2023 - 13:42
 0  28
आजदेखी छठ पर्वको व्रत विधि शुरु, आज ‘नहाय–खाय’

भरतपुर । 

आस्थाको महापर्व छठ आजदेखी विधिवत् रूपमा शुरु भएको छ। व्रतालुले आज ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन्। कात्तिक शुक्ल तृतीयाकै दिन हिजो व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि गरेका थिए। 

आज व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन्। यो विधिलाई मिथिलामा‘नहाय–खाय’भनिन्छ।हिजो‘अरबा–अरबाइन’ र आज ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरूप खान्छन्।

 यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ। व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ।यसपालि छठको समापन आउँदो सोमवार बिहान सूर्योदयसँगै गरिने छ।

 छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी(छठी)देवीको महिमा गाइएका गीत गुञ्जदैछन्।छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर सिङ्गारिएका छन्। यस्तै काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि छठको रौनक बढ्दो छ।नदी तटलाई झकिझकाउ बनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow